उदयपुरका १२ बिरामी जसको र्‍यापिड नेगेटिभ तर पीसीआरमा पोजिटिभ देखाएकोमा फेरि र्‍यापिड गर्दा नेगेटिभ नै देखाएको थियो । धनगढीमा क्वारेन्टाइनमा आरडीटी गरी नेगेटिभ देखिएपछि घरमा पठाएको तर दुई दिनपछि पीसीआरमा पोजेटिभ देखिएका थियो । यी त उदाहरण पात्र हुन्, जसले संक्रमण समाजमा धेरै फैलाइरहेका हुन्छन् ।

नेपालगन्जमा वैशाख १९ गते धार्मिक गुरुमा संक्रमण पुष्टि हुँदा उनको सम्पर्कमा आएका एक सय ९० जनाको ट्रेसिङ १० दिन लगाउँदा पनि पूरा हुन सकेन । त्यस्तै हविगत उडानहरू, कपिलवस्तु, उदयपुर, पर्सालगायतका हट जिल्ला र स्थानमा छ । बन्दाबन्दी खुकुलो बनाएपछि सयौ संक्रमित भेटिने, ठेगाना फरक पर्ने, कोभिड विशेष अस्पतालमा स्थान नभएपछि उनीहरूकै व्यवस्थापनमा व्यस्त हुँदा कन्ट्याक्ट खोज्ने भद्रगोल छ । पहिलो घेराकै ट्रेसिङ गर्न नभ्याइरहेका बेला दोस्रो तेस्रो चरणको घेरामा खोज्न कहिल्यै नभ्याउने देखिन्छ ।

कोभिडको निदान

नेपालमा कोरोनाको परीक्षण माघ १४ बाट सुरु भएको थियो । सुरु भएको ४४ दिन फागुन ३० सम्म कडा र सीमित मापदण्डका कारण न्यून संख्यामा ४५६ वटा परीक्षण भयो र एकजनामा संक्रमण देखियो । चैत ३० सम्म ५१८४, वैशाख ३१ सम्म २१ हजार तीन सय ४० पीसीआर भए । दैनिक औसत पाँच सय बढीका दरले संक्रमण थपिँदै ७६ जिल्लामै देखिइसक्दा र क्वारेन्टाइन नै खाली हुन थालेपछि दैनिक तीन सयको दरमा संक्रमणको वृद्धि छ । पुलिङ विधिबाट ३४ ल्याबबाट सात हजार तथा निजीबाट तीन हजार गरी असार १५ बाट कूल १० हजार परीक्षण गर्छौं भन्ने सरकारले हाल पाँच हजार उकालो लाग्न सकेको छैन ।

स्वाब व्यवस्थापनमा त्रुटि

नमुना प्रयोगशाला पुर्‍याउँदा आइस बक्सको तापक्रम ४ देखि ८ डिग्री सेल्सियस हुनुपर्छ । आइसबक्समा जेल प्याक तीनवटा भए ४८ घन्टासम्म र बरफ भए १२ घन्टामै पग्ली तापक्रम नियन्त्रित रहँदैन । पठाइएका नमुना ४८ घन्टाभित्र जाँचिसक्नुपर्छ । प्रयोगशालामा नमुना माइनस चार डिग्री सेल्सियसमा राख्दा २४ घन्टाभित्र परीक्षण गरिसक्नुपर्छ । दुई महिनासम्म राख्न माइनस २० र ६ महिनासम्म राख्न माइनस ८० डिग्री सेल्सियस आवश्यक पर्छ । यस्तो रेफ्रिजेरेटर देशमा तीन ठाउँ मात्र छ । स्वाब संकलन र प्रयोगशालाको तापक्रम सन्तुलनमा त्रुटि देखिँदा नमुनाको सही नतिजा नआई फल्स नेगेटिभ आउँछ ।

एकातिर प्रयोग भइरहेका भीटीएमको गुणस्तरबारे गाइडलाइन छैन । कतै एक मिली त कतै तीन मिलीका, भिटीएम बिग्रेका, बिर्काे नलागेका, तरल चहिरहेका, गुणस्तर नभएका कारण पनि फल्स नेगेटिभ छन् । कोल्ड चेन मेन्टन नहुँदा भाइरसको न्युक्लियस टुटी नेगेटिभ परिणाम आउँछ । कोभिड– १९ को लक्षण देखिएका व्यक्ति वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको सातदेखि १० दिनसम्ममा नाक र घाँटीबाट नमुना संकलन गर्दा ९० प्रतिशतसम्म सेन्सिटिभिटी हुन्छ । संक्रमण भएदेखि सात दिनसम्म र ११ दिनपछि नमुना संकलन गर्दा सही रिपोर्ट कम रहन्छ । स्वाब नाक र घाँटी दुवैबाट लिनुपर्नेमा एकबाट मात्र लिँदा नेगेटिभको सम्भावना बढ्छ । परीक्षण भइरहेका नमुना ६० प्रतिशत बढी प्रभावित छन् ।

आरडीटीमा फजुल खर्च

आईजीएम र जी बन्न तीन दिन र १४ दिनसम्म लाग्छ । बूढापाका तथा रोग प्रतिरोधात्मक शक्ति कम वा नभएकामा शरीरले एन्टिबडी बनाउँदैन । त्यसैले विश्व स्वास्थ्य संगठन, सीडीसी, एनएचएजस्ता संगठनले एन्टिबडी परीक्षणलाई निदानमा सिफारिस छैन । गुणस्तरमा प्रश्न उठेपछि विज्ञ सल्लाहकारले अनुसन्धान परिषद्लाई खोज गर्न लगाएर मात्र प्रयोगमा ल्याउने भने पनि दुई दिनमै ओम्नीले ल्याएको किट प्रयोग गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गई स्वीकृति भई देशभर प्रयोग भयो ।

विमानस्थल तथा नाकामा आएका यात्रुको परीक्षण र डिजिटल ट्रेसिङ राखेको भए कन्ट्याक्ट ट्रेसिङ र संक्रमण नियन्त्रण कति सहज हुन्थ्यो होला ?

सरकारमातहत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आरडीटी किट प्रयोग गर्दा आधा बढी संक्रमित समाजमा छाड्ने भएकाले कोभिड– १९ परीक्षणमा प्रयोग नगर्ने रिपोर्ट सरकारलाई बुझाएकै हो । पाँच लाख नागरिकको परीक्षण गर्ने भन्दै तीन लाख आरडीटी र दुई लाख पीसीआर गर्ने भन्दै थप खरिद भइरहे । परीक्षणलाई व्यापक बनाउने भन्दै निजीलाई पर्चामा लेखिएको सेन्सिटिभिटी र स्पेसिफिसिटीका आधारमा अनुमति दिइयो । सर्वाेच्चको स्टे अर्डरले नयाँले स्वीकृति नपाए पनि पुरानाले प्रयोग गरिरहेका छन् । आरडीटीबाट रिपोर्ट पोजेटिभ आउँदैमा डराउनुपर्ने र नेगेटिभ आएर उत्सव मनाउनपर्दैन किनभने संक्रमण छ÷छैन भन्ने थाहा पाइँदैन । कार्यविधिले पनि आरडीटी पोजेटिभलाई संक्रमण मान्दैन र कन्ट्याक्ट ट्रेसिङ पनि गरिँदैन । तथापि निदानमा पीसीआर गोल्ड स्ट्यान्ड हँुदाहँुदै आरडीटी खरिद गर्न किन मरिहत्ते ?

कन्ट्याक्ट ट्रेसिङ

संक्रमितसँग भौतिक सम्पर्कमा आएका व्यक्ति खोज्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ । कन्ट्याक्ट ट्रेसिङमा विभिन्न विधि प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिलो विधि संक्रमितसँग विश्वास सिर्जना गरी लिइने अन्तर्वार्ता हो । बिरामीको सत्यताले परिवार, छिमेकी, समाज र देशलाई बचाउन योगदान पुर्‍याउन सघाउँछ । उससँग सम्पर्कमा आएकाको फोन नम्बर, प्लेन चढेका भए त्यसको विस्तृत विवरण, बस चढेको भए कहाँ, कतिबेला, कुन तथा कहाँकहाँ रोकेको, स्थानीय बस वा ट्याक्सी सबैको विस्तृत नोट गरी त्यहीअनुसार खोजी गरिन्छ । अन्य विधिमा बिमा र मेडिकल रेकर्ड मूल्यांकन, फोनको डिटेल तथा जीपीएसबाट पुगेका स्थान र समय, डेबिट वा क्रेडिट कार्ड प्रयोगको इतिहास र सिसिटिभी क्यामेरा पर्छन् ।

संक्रमितले विपरीत लिंग र आफन्तसितको भेटघाट लुकाउने गरेका छन् । संक्रमित पुष्टि भएकासँग परीक्षण नतिजा आउनुअघि सम्पर्कमा भएका व्यक्तिहरू खुल्न नचाहेकाले र काल्पनिक कथाले संक्रमण फैलिँदै जाने जोखिम बढेको छ । संक्रमितले सम्पर्कमा आएकाहरूको नाम, स्थान बिर्सिसकेको जवाफले झनै जटिल बनाएको छ । स्थानीयलाई पनि कन्ट्याकट ट्रेसिङको महत्व, किन र कसरी गर्ने अभिमुखीकरण नभएकाले र फर्म अंग्रेजीमा तथा अभ्यस्त नभएका नेपाली शब्द भएकाले द्विविधा छ । नेपालगन्ज, रूपन्देही र कपिलवस्तुमा भाषा नबुझेको तथा प्रहरी, नेता, सेना, स्वास्थ्यले पटकपटक त्यही दोहोर्‍याउँदा झिझैकै कारण २५ जनाको कन्ट्याकट शून्य छ, जुन असम्भव थियोे र दोहोर्‍याएर काम गर्नुपर्‍यो ।

 डिजिटल ट्रेसिङ

सूचना प्रविधि प्रयोग गरेर सम्भावित संक्रमित खोजी गर्नेलाई डिजिटल ट्रेसिङ भनिन्छ । सीएनएन बिजनेसका अनुसार चीनले हेल्थकोड एपमार्फत नागरिकको स्वास्थ्य अवस्था, हिँडडुल र सम्पर्क गतिविधि अवलोकन गर्ने गर्छ । एप्सले रातो, पहेंलो र हरियो रङको क्युआर कोडमार्फत व्यक्तिको स्वास्थ्यस्थिति र हिँडडुल गर्न पाउने–नपाउनेबारे जानकारी दिन्छ । यसलाई पछ्याउँदै सिंगापुर, ताईवान, दक्षिण कोरिया, इजरायल, जापान, भारत र अस्ट्रेलियाले पनि गरिसकेका छन् ।

नेपाल सरकारले कोभिड– १९ संक्रमणको रोकथाम तथा विदेशबाट आएकाहरूको पहिचानका लागि ट्रेसिङ एप निर्माण गर्ने घोषणा गर्‍यो । गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्र्तगतको पोर्टल पनि छ । निगरानी गर्न सेना, प्रहरी, गृह, कांग्रेस, स्वास्थ्यका आआफ्नै छुट्टाछुट्टै वेबसाइट, एप सञ्चालनमा छन् । तथापि निगरानी र तथ्यांक दुरुपयोगको सम्भावना छ । दैनिक फोन गरी १४ दिनसम्म स्वास्थ्यस्थितिबारे जानकारी लिँदा उच्च जोखिम, सामान्य जोखिममा भए–नभएको र कसलाई पीसीआर, आरडीटी गर्ने, क्वारेन्टाइन, अस्पताल वा आइसोलेसन कहाँ राख्ने जानकारी दिन्छ ।

अन्त्यमा नेपालका विमानस्थल तथा नाकामा आएका यात्रुको परीक्षण र डिजिटल ट्रेसिङ राखेको भए कन्ट्याक्ट ट्रेसिङ र संक्रमण नियन्त्रण कति सहज हुन्थ्यो होला ? संक्रमितको पुष्टिपूर्व नै नभए कम्तीमा २४ घन्टामा सीआई र दुई दिनमा ट्रेसिङ तथा १४ दिनसम्म निगरानी गर्न सके मात्र थप ८५ प्रतिशत संक्रमण रोक्न सकिन्छ ।

–डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।

annapurna post