समिक्षक :- मनहरी क्षितीज पर्बत

स्रोत :- lokpati.com

 

दुर्गेश थापा नेपाली गीत संगीतको क्षेत्रमा निकै चर्चित र विवादित नाम हो। उनलाई र उनको गीतलाई नचिन्ने नयाँ पुस्तामा कमै होलान। म पनि ती मध्ये एक हुँ। संगीतमा नयाँपन दिन सक्ने कलालाई सधैं मेरो सम्मान छ तर अर्थपूर्ण, सामाजिक र न्यायोचित हुनुपर्छ। ‘कि दुर्गे रेलमा कि दुर्गे जेलमा’, ‘मुद्दा हाल्दिन्छु’, ‘हेप्पी तिहार, हेप्पी तिहार, चिसो बियर’ जस्ता गीतहरुले उनलाई सधैं ट्रेन्डिङमा ल्यायो। तर उनी पछिल्लो समयमा अलि विवादित बन्न पुगे।

हालै, दुर्गेश थापाको ट्रेन्डिङमा रहेको गित ‘आलू जस्तो गायक’ ले बजार तताए पनि म्युजिक र दुख गरेर आएका सर्जकप्रति अन्याय गरेको जस्तो देखिन्छ। कसैले आलोचनात्मक चेतना भरिदिन्छन भने सुन्न सक्नुपर्दछ। उनले युट्युबमा गीतसँग आफ्नो नोट छोडेका छन तर यसले अहंकार र घमण्डको आवाजको आभास दिन्छ। केहि हदसम्म अग्रज कलाकारहरु प्रतिको अपमान हो भन्न सकिन्छ।

कोहि पनि आमाको गर्भबाटै सिकेर वा सबैलाई आमाले म्युजिकको सुर ताल सिकाएकी हुँदिनन्। सिकाइ संघर्ष हो, त्यसैले सिकाइ जिवन्त हुन्छ। दुर्गेश थापा, जे जस्तो गाए पनि हिट भइन्छ भन्ने मानसिकताबाट अगाडि बढेको देखिन्छ। ‘हो हो माले’ गीतका सर्जकसँग दुर्गेशलाई कहाँनेर तुलना गर्न मिल्छ ? कोइली र कागसँगको तुलनाले आँफूले सबै तरिकाले आँफूलाई सहि छु भन्ने धारणा व्यक्त गर्न खोजेको जस्तो देखिन्छ।

प्रकृतिले कहिलै पनि बिकृती सिकाउंदैन। हो प्रकृतिको आफ्नै लय हुन्छ। आफ्नै सुर र ताल मा बग्दछ। ‘आफ्नै सुरुमा सुसेल्छ प्रकृतिले धुन, खोला नाला हावा हुरि मेरै गुरु हुन्’ यस लाइनमा उनी स्वतन्त्र हुन पाउनुपर्ने आशय व्यक्त गरेका छन्। हो, स्वतन्त्र हुनुपर्छ तर विकृती सहितको स्वतन्त्रता कदापी प्रकृतिको देन होइन। संगीतको आफ्नै छुट्टै बिधा हुन्छ, त्यसमा कसैको दुइमत छैन तर यहाँ कसैलाई पछ्याउनु पर्छ भन्ने बाध्यता हुन्नँ। आफ्नै मौलिकता हुन्छ तर संगीतको नियम, सामाजिक प्रभाव, रितिरिवाज, परम्परामाथि कुल्चिएर बिकृती भित्र्याई आफूलाई फरक धारमा उभ्याउन खोज्नु कहाँ सम्मको बुद्धिमता हुन्छ ? आधुनिक मात्रै होइन अति आधुनिक हुनुपर्छ तर संस्कृती छोड्ने भन्ने हुँदैन।

दुर्गेश थापाले रत्यौलीमा ग्यालिन ठटाएकी कि हार्मोनियम बजाए भन्ने कुराले अर्थ राख्दैन। अर्थ राख्दछ त रत्यौलीको मर्मले। दर्शकले कस्तो गीत बजारमा आए, गीतले कस्तो सन्देश दिए भन्ने कुरा हेरेका हुन्छन। सबै गीतले सन्देश नबोल्न सक्छन, तर संगीतले सकारात्मकता, र आनन्दको अनुभव पक्कै दिन्छ। यो कुरामा दुर्गेशले महसुस गर्नै पर्दछ। उनले गाएका प्राय गीत ट्रेन्डमा आए तर विवादमा पनि तानिए।

‘कहिलेकाहीसुर साधाक पर्छन होला चित, आलू जस्तो गायक पनि हुँदा रछन हिट“ यो लाइनले भन्न खोजेको कुरा त्यति व्याख्या गरिरहनु पर्दैन होला। आँफै बुझ्नुहुन्छ। ’आलू’ होइन यस्तै हो भने अग्रज सर्जक अनि नयाँ आउने पिढिलाई तिते करेला जस्तो लाग्न सक्छन। करेलाले सबैलाइ अलि ठिक गर्दैन। आलु त प्रीय चिज हो। यस गीतको शब्द वसन्त थापाको भएता पनि दुर्गेश थापाले सम्पूर्ण रुपमा आँफूमाथि प्रस्तुत गरेको हुनाले ‘नगर है सवाल’।