काठमाडौँ — नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने वेस्ट इन्डिज जाने निश्चित भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको हो ।
![](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn-usa.kantipurdaily.com/uploads/source/news/kantipur/2020/sports/sandeep-lamichhane-0222020102922.jpg&w=1000&h=0)
तस्बिरहरू : अंगद ढकाल/ कान्तिपुर
सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका छन् । उनले सन्दीप जुलाई ३० मा त्यसतर्फ जाने बताएका छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछन् । शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन् ।
सन्दीपले जमैका तलाबाजबाट खेल्न ९० हजार डलरका अनुबन्ध गरेका थिए । क्यारेबियन जानका लागि सन्दीपले लामो समयदेखि त्यसको व्यवस्था गर्न प्रयास गरिरहेका थिए । शिवाकोटीले यो काम सम्भव पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।