विषालु सर्पले टोक्दा तत्काल औषधोपचार हुन सके ज्यान जोगिन्छ। तर अधिकांशको उपचार नै नपाई मृत्यु हुने गरेको छ। सर्पले टोकेपछि शरीरमा फैलिने विषलाई निष्क्रिय बनाउन नेपालमा पहिलोपटक सुनसरीको बराह क्षेत्रमा औषधि उत्पादनको तयारी गरिएको छ । त्यसका लागि सर्प र घोडा पाल्न थालिकएको छ ।

बराहक्षेत्र नगरपालिकामा एन्टी स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफेक्चारिङले औषधी उत्पादनको तयारी थालेको हो । एक वर्षभित्र सञ्चालनमा आउनेलक्ष्य सहित ८८ करोड ६३ लाखरुपैया लागतअनुमान गरिएको उद्योगको शिलान्यास प्रदेश १ का कामुख्यमन्त्री शेरधन राईले गरेका थिए । नेपालमा पहिलोपटक सर्पको विषविरुद्धको औषधि उत्पादन गरी विदेश निर्यातको लक्ष्य राखिएको छ । 

अहिले नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ । एन्टी स्नेक भेनमको माग विश्वभर छ । उद्योगले वाषिर्क १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख भाइल औषधि उत्पादन गर्ने दाबी गरेको छ । १५ लाख भाइल औषधि सेरम उत्पादन गर्न २ सय घोडा र त्यत्तिनै संख्यामा सर्प आवश्यक पर्छ । भेनमका लागि कम्पनीले घोडा पालन र सर्प संरक्षण गर्न सुरु गरेको छ । घोडा नेपालको विभिन्न ठाउबाट ल्याइएको र सर्प भने आफै संरक्षण गर्न सुरु गरेको छ । एन्टी स्नेक भेनम निर्माणका लागि सर्पको मुखबाट विष निकालिन्छ । विषलाई सुइको माध्यमबाट घोडाको रगतमा प्रवाह गरिन्छ । घोडाको शरीरमा विष प्रवाह हुँदा विष प्रयोग गरेको एक महिनापछि घोडाले एन्टीबडी तयार गर्छ । एक महिनापछि एन्टीबडी मापनपछि घोडालाई रक्तदान गराइन्छ । घोडाबाट निकालिएको निश्चित रगतलाई प्रशोधन गरेर सर्पको विषविरुद्धको औषधि एण्टी स्नेक भेनम बन्छ । यो प्रकृयामा सर्प र घोडा दुवै स्वस्थ्य हुन्छन् । खास गरी तराई क्षेत्रमा सर्पदंशका घटना बढी देखिने गरेको छ। विषालु सर्पले टोक्दा तत्काल औषधोपचार हुन सके ज्यान जोगिन्छ। तर अधिकांशको उपचारै नपाई मृत्यु हुने गरेको अवस्थामा स्वदेशमै औषधी उत्पादन गर्ने काममा सफलता मिले धेरैले अकाल मै ज्यान गुमाउनुपर्ने  थिएन ।

स्रोत:कान्तिपुर टेलिभिजन