• मिस्टर लेजीबोन

बिद्यालयको हामी २०५८ सालको फस्ट एस एल सी ब्याच ग्रुप थियौं । स्कूल पढ्दाताका एफ. एम रेडियो खुब सुनिन्थ्यो । पत्रिकाहरू गोरखापत्रदेखि रसरङ्गसम्म भेटेजति पढिन्थ्यो,तर भेट्नै मुस्किल,भेटे पनि हिरो-हिरुनीको फोटोमा आँखा गैहाल्थ्यो । पोखरामा माछापुच्छ्रे ,अन्नपूर्ण एफ एम भर्खर घन्किन थाल्या थे । कहाँबाट कसरी हो कुन्नी उपनाम/साहित्यिक नाम/नीकनेम राख्ने चलन उग्र थियो । रेडियो सुन्यो, जस्को पनि उपनाम हुने । साहित्यिक पत्रिका पढ्यो, सबैको उपनाम हुने । उपनाम पनि खतरा-खतरा । सागर, अतृप्त, प्यासी, असफल, अकेली, प्रिया, मुसाफिर, अनुरागी, यात्री, मुस्कान, स्मृती, परदेशी, गगन, क्षितिज, के के हो के के…

हामी पनि के कम । उपनाम (नीकनेम) त राख्नै पर्‍यो भनेर कक्षामा लास्ट बेन्चतिर बस्ने केटाहरू बिच सल्लाह भो । रणेले ‘असफल’ राख्यो । शरदले ‘एकल यात्री’ । राजेन्द्रले ‘दुर्लभ` , अशोकले ‘राज सान’ । चिरञ्जीवीले सुरुमा ‘प्रशान्त’ राख्याथ्यो, पछि के मूड चलेछ कुन्नी प्रशान्त हटाएर ‘निश्चल अनुरागी’ राख्यो । सबैले उपनाम राखे, मलाई भने सुहाउँदो नाम भेटिएन ।केटाहरूले दुनियाँथरी पत्रिकामा नाम खोजे । रेडियो सुनेर नाम टिपे । कुनै चित्त बुझेन । लास्टमा नाम जुर्‍यो ‘लेजीबोन’ । कापीमा नाम हैन, उपनाम लेख्न थालियो । नजिकका साथीहरूले उपनामले नै बोलाउन थाले ।अझ उपनामको पछाडि सर थपेर बोलाउँदा त झन् बबाल सुनिन थाल्यो । असफल सर, अनुरागी सर, राज सर, लेजी सर…९ कक्षा पढ्दै गर्दा हो,चिरञ्जीवीलाई कक्षाकै एउटी केटीमा मन बसेछ । अब जिग्रीको मन बसेसी अरू केटाहरूलाई ‘आँखा लाउलास् नि मु….हरू’ भनेर सचेत गराउँनै पर्‍यो । गराएँ । उत्तिनखेरै केटाहरूले ‘भाउजू’ उपनाम दिए ती केटीलाई । साथीको लप परेसी सकेसम्म स्कुल हाप्न खोज्ने हामी रेगुलर स्कूल जान थाल्यौं । चाकल डाँडातिर बसेर मुरली फिराउने काम कम हुँदै गयो । जुकेपानीतिर साईकल सिक्न जानी काम ठप्पै भयो । घट्टेखोलातिर पौडी खेल्न जानी काम त झन् एकादेशको कहानि भइगयो । जे होस् – साथीको लपले हामीलाई सुधार्‍यो । पढाइ नि सुध्रियो । तर सधैं एकोहोरो माया मात्र गरेर भएन, अब त प्रपोज हान्न पर्छ यार भनेर एकदिन चिरञ्जीवीलाई उक्साएँ ।

ह्याँ हुन्न, अनन्त सर (हेडसर)लाई भन्दिइ भने तनाप हुन्च ! -चिरञ्जीवी बोल्यो ।
चप्पलले हानी भने त झन् बेईज्जत हुन्छ !- शरदले थप्यो ।ह्या भन्दैन के ! केटीको नि मनै हो । उस्ले नि तिमीलाई मन पराउँछे । हन्ड्रेड पर्सेन्ट हो – मैले अलि कडै स्वरमा जवाफ दिएँ ।

हुँदैन भनेसी हुँदैन हुँदैन भनेर चिरञ्जीवी बाटो लाग्यो ।
उसलाई मनाउन सकिएन ।नमानेपछि भोलिपल्ट त्यही कुरा निकालेर जिस्क्याएँ । पर्सीपल्ट, निकापर्सीपल्ट… यो काम लगभग १०-१५ दिन चल्यो ।

एकदिन के मूड चलेछ कुन्नी , ल म प्रपोज हान्चु भनेर जिग्री तात्तियो । ल गजप भो भनेर केटाहरूलाई सुनाएँ ।लभलेटर लेख्नलाई लामो खाले कापी किनियो । शरद अलि जान्नी पढन्ते भएकोले म पनि संगतले सुधृहाल्छु कि भनेर कहिलेकाहीँ उसको घरमा चिरञ्जीवी पढ्न जान्थ्यो । एकदिन म ,प्रकाश र राजेन्द्र त्यहीँ गाँडाघेर लाएर दिनभरीका कक्षाका गतिबिधी भन्ने अनि साथिलाई उडाउने कुरा गरिराथ्यौ त्यही मौकामा शरदका बा आएर हमीलाई गधा हो भन्दै कराउँदै आउनुभयो। हामी खाटमुनी लुक्यौ । अलि सामसुम भएपछी फेरि चिरञ्जीवी चिठी लेख्न थाल्यो । उसले ३ रात लाएर चिट्ठी लेख्यो । एकदुईटा चल्तीको ईङ्ग्लिस कविता शरदले नि सिकाइदियो । फणीन्द्रसरको स्टेशनरी पसलबाट राजेश हमाल र विपना थापा भा’को पोस्ट कार्ड किनेर लेराइयो । शरदले बाउको पर्फ्यूम चोरेर ल्याएर चिट्ठीमा छर्दियो । चिट्ठी हरररर बास्ना आयो । बास्नाले झण्डै-झण्डै चिरञ्जीवीलाई हाच्छिउँ आयो । पछि भातको माडले चिट्ठीको खाम टालेसी चिट्ठी तयार भो ।

चिट्ठी त तयार भो ।
तर दिने कस्ले ?
जस्ले लेख्यो, उस्ले दिने नि ! – म‌ैले भनें ।
त्यस्तो हुँदैन, बिचमा हुलाकी चाहिन्छ । – प्रकाशले जवाफ फर्कायो ।उसो भए कस्ले दिने त ?
केटाहरू बिच सल्लाह भो । सालेहरूले लास्टमा मैंलाई झोसे । म त सक्दिन भनेको, साथीको लागि त्यति नि गर्दैनस् भनेर जिस्क्याए । हुन त चिरञ्जीवीलाई दिनदिन‌ै उक्साउने मैं थिएँ ।स्कूलमा २, ४ जना केटाहरूलाई लभ लेटर काण्डमा अफिस कोठाँ लगेर अनन्त सर र बलरामसरले झापड हानेको झल्झली याद आयो ।लेवाडे गाउँको डण्डपाणी भन्ने भाइ त्यस्तै लभलेटर काण्डपछि स्कुल नै छोडेर ईण्डिया गाथ्यो । पछि ईण्डियामा रोड एक्सिडेन्टमा परेर मर्‍यो रे भनेर खबर आयो । त्यो खबर सुनेपछि सबै भन्दा बढी बेचैन हेडसर देखिनुभाथ्यो । सायद रेस्टृकेट गर्न भुल ठानेहोलान् ।अब चिट्ठी त दिनै पर्‍यो, दोस्तको मायापिरेमको कुरा जो छ ।
तर दिने कसरी ?
यसै विषयमा फेरि एकपालि उपनामवालाहरूको बैठक बस्यो । लास्टमा दशैंको शुभकामना आदान-प्रदान कार्यक्रमको दिन दिने भन्ने कुरा भयो । ल ओके डन् भनेर घरतिर लागियो ।शुभ-कामना आदान प्रदान कार्यक्रमको दिन आइपुग्यो । अरू केटाहरूमा छुट्टै रौनक थियो, आफूलाई भने पेट पोलेर आपत । कार्यक्रम सुरु भो । कोहीले गीत गाए, कोहीले मादल बजाए, आफ्नो भने यसै कान तातो । बेलाबेलामा चिरञ्जीवीले ‘दियौ त’ भनेर सोधेको सोध्यै फेरि !कार्यक्रम सकियो । सबै घर जाने सुरसार गर्न थाले । म भने टोलाएर बसिराथें, बलेसरले ओइ स्टेजको टेबल बोक्न आइज भनेर बोलाउनू भो । केटाहरू त घर टाप हानिसकेछन् । म भने टेबल बोक्नमा परें । काँधमा टेबल, पाइन्टको पछाडिपटी गोजीमा चिरञ्जीवीको चिट्ठी जस्ताको तस्तै थियो ।मन लागि नलागी टेबल बोकेर अफिसकोठातिर जाँदै थिएँ, भाग्यले भाउजू अफिसकोठामैं रहिछिन् । वरिपरि कोही नाइँ । मौका यही हो भनेर सुन त भनेर फ्यात्त चिट्ठी हातमा राख्देर बेत्तोडले कक्षातिर हान्निएँ । किताब केटाहरूले लग्दिसक्या रहेछन् । सिधै रुपा आवोई को पसल हुँदै चाकलडाँडातिर दौडिएँ ।सल्ला बोटनीर केटाहरू मलाई नै कुरेर बसिरारहेछन् ।
दियौ ? -चिरञ्जीवीले सोध्यो ।
दिएँ ! – आवाज ठूलै आयो ।
त्याँण हर्ष-बढाइँ भो । कटाहरूले मलाई झण्डै उचाले । त्यै खुशीयालीमा चिरञ्जीवीले ३ पोका रम्बा चाउचाउ किन्यो । नुन, घ्यू, खुर्सानी सब हालेर मोलेर खाइयो । मीठै भो ।दशैं आयो । अष्ठमीमा कास्कीकोट जात्रा गइयो चेतनलाई चैं हजुरबाले जान दिनुभएन । टीका लाइयो । पीङ खेलियो, त्याका केटाहरुलाई दादा देखाईयो । मासु खाइयो । खेतका काल्नाका अलैची चोरियो ।मगर गाममा साथीहरूसँग मिलेर सुँगुर लखेटियो । गुरुङ गाउँ पसेर पाडोको मासु दापियो । बाटो छेउ कोदोको बाला बाँधेर मान्छे लडाइयो । समग्रमा दशैं रमाइलै भो । एकदिन त भोटेको च्याङ्रा चोर्ने केसमा पनि परियो । दशैं सक्केर तिहार आउनलाई २-३ दिन बाँकी थियो । मतलब हामी दशैं-तिहार बिदामा थियौं , खेतको काल्नामुनी हाम्रो सुका पोईन्ट म्यारिज खेल्ने क्रम जारी थियो । पढ्नलाई ९ कक्षामा पढे पनि ‘होमवर्क’ गर्ने चलन थिएन । त्यसैले हामीलाई ढुक्क थियो ।जवाफ के आउला त ? – सोचमग्न भएर चिरञ्जीवी बोल्यो ।
अब तिमी जस्तो मान्छेले प्रपोज गरेसी १००% ‘यास्’ आउँछ नि ! – मैले थप्दिएँ ।
‘नो’ आयो भने ?
अब ‘नो’ आए त्यस्को आँखाँ फुलो पर्‍या र’छ भन्ठानूँला ।मेरो जवाफले चिरञ्जीवी मुर्छा परेर हाँस्यो । हाँस्दा आँखा चिम्म भो । उ हाँस्या देखेर म नि हाँसें । एक्छिन चर्को हाँसो चल्यो ।
हाँसो रोकिए लगत्तै महावाणी आयो- यो माया भन्नी चीज कडा हुँदो रै’च यार !
हो बिमल ब्रो, मैले सही थाप्दिएँ ।चिरञ्जीवी बसेको ठाउँबाट उठेर चाकतिर लागेको धुलो टक्टक्यायो । धुलो र दुबोको झुर्का उडेर मेरो मुखतिर आइपुग्यो । धुलो सहन नसकेर म नि पाद् दै उठें । त्यो बेला अलि धेरै पाद आउथ्यो किन हो कुन्नी ।

ब्यान हजुरआमाले भुट्या मकै छ, म गन्द्रुकको अचार बनाम्ला, हाम्रो घर जाम् ! – चिरञ्जीवीले एकै सासमा भन्यो ।
जाम् भने जाम् त नि भनेर म अगाडि लागें ।पछाडि-पछाडि उसले गीत थाल्यो –
तिमी हुन्छ भन, जे सुकै सहूँला
यो मायाको सागर मिलेर तरौंला….
फेरि अर्को सुरु गर्थ्यो
हिउँ नदि झै यो माया कलल कलल….

मैले नि स्वर खापें । गीत गाउँदै उसको घर पुगियो ।तिहार आयो । टीका लाइयो । देउसी खेलियो । देउसी खेल्दा मैले र रणेले मादल बजायौं । चिरञ्जीवीले भाका फिरायो । अरूले स्वर खापे । मन मिल्नेहरूले । गाला र मुख पनि खापे । रामजी र कल्पुले त ओठ- ओठ खापेको भोलिपल्ट सबैले गाईगुँ ई गरे । आँखा मात्रै जुधाजुध हुनेहरूले देउसीको बाहनामा ढाँड जुधाए, कोहिले बेला-बेलामा बोत्तल जुधाए । तिहार सक्कियो । स्कूल जानी दिन आयो । पहिलो दिन पढाइ हुन्न गुहु सोर्न पर्छ भनेर गइएन । दोश्रो दिन अल्छी लागेर गइएन । स्कूल जान भनेर आको रणे र ढके हाम्रै घरबाट फर्किए ।

तेश्रो दिनदेखि जानी सल्लाह भो । स्कुल त जानी तर नानीको चप्पल खाइने पो हो कि भन्ने डरले पेट पोलिराथ्यो ।स्कूल गइयो । धन्न केही रियाक्सन आएन । केटाहरूले ‘भाउजू लजाउनू भो’ भनेर लख काटे । मैले नि हो मा हो मिलाइदिएँ ।
तर कात्तिक गयो, मंसिर गयो, पुस गयो… भाउजूको तर्फबाट जवाफ आएन ।किन आएन बुझिहेर त गोविन्द भनेर फेरि अह्रायो चिरञ्जीवीले ।
‘अब केटी हो, केही समय त लागिहाल्छ नि’ भनेर उसलाई सम्झाएँ । तर माघ लागिसक्दा नि जवाफ नआएसी ‘अब त जसरी नि सोध’ गोविन्द भनेर आदेश दियो ।माघको महिना ।
शुक्रबारको दिन हाजिरीजवाफ प्रतियोगिता थियो स्कूलमा । अन्नपूर्ण सदनको तर्फबाट म, ८ मा पढ्ने प्रताप भाइ र त्यै नानीलाई भाग लिन भनेर बलराम सरले चुन्दिनू भएछ । म बस्दिन भन्दा सरले बस्, भाग लिनपर्छ भनेर कराउनू भो ।हाजिरी जवाफ सुरु भो । म टिम क्याप्टेन । साईडमा प्रताप र चिरञ्जीवीको प्रेमिका उर्फ भाउजू । म त्यसै त नर्भस थिएँ, झन् भाउजू नै साईडमा बसेपछि त वाक् आउला-आउला जस्तो भो । कार्यक्रम सुरु भो । प्रश्नको जवाफ दिँदा गोविन्दको आवाज सानो भो भनेर सरले भनेपछि अलि ठूलो स्वरले बोलें । हाजिरी जवाफ राम्रै हुँदै थियो । प्रश्नको सही जवाफ दिँदा बाहिर बसेका हाम्रा केटाहरूले १ मिनेटजति ताली बजाइदिन्थे ,मलाई हौसाउथे । म झन् नर्भस हुन्थे ।

अन्तिममा हाम्रो सदनको – १९
धौलागिरी सदनको नि – १९ नै अंक भो ।हाम्रो भागमा बाँकी एउटा प्रश्न थियो । त्यो प्रश्नको सही उत्तर नदिएको खण्डमा धौलागिरी सदनले प्रतियोगिता जित्ने कन्फर्म थियो । धौलागिरीको क्पाप्टेन केटी लास्ट पढन्ते थिइ । प्रश्न आयो – सबैभन्दा छिटो बढ्ने बिरुवा कुन हो ?
– ल मुला…ठिस भो… मलाई त आउन्न, तिमीलाई आउँछ प्रताप ?
उसलेआउँदैन दाइ भन्यो ।
– अनि तिमीलाई नि ? भाउजूसँग पहिलोपालि बोली मिसियो ।
अँह ! भाउजूले सुमधुर स्वरमा जवाफ दिइन् । म फल्याँट भइगएँ ।लु नआउने नै भो, गइयो खोला खोलै भनेर मन लागि नलागी सानो स्वरमा भनें – पास् !

‘सही जवाफ’ उताबाट ठूलो आवाज आयो ।

बाहिर दर्शक-दीर्घमा बसेका केटाहरूले लगभग २ मिनेट ताली बजाइदिए । हुटिङ लाइदिए । म अलमल्ल गोत्र….
अचम्म !
पास, भनेको मैले त !
कसरी सही जवाफ भो ?
कसरी ?
खै! पहिला पनि हाम्रो बिद्यालयका जग्गा दाताको नाम के हो? भन्दा मैले फ्याट्ट तुलागिरी सुवेदी भन्द्या थे ,पहिला सहि भने पछि रद्द भो । मलाई गिरि आफैमा थर हो भन्ने थाहा थिएन ।
हाउ ?फस्ट भइ त हालियो । पुरस्कारमा अनुहारमा अबिर र ईगलवाला बूक कापी पाइयो । प्रताप र भाउजूले नि बूक कापी पाए । निधारमा रातो अबिरको टीका लाउँदा भाउजू बिछट्टै राम्री देखिइन् । अहिले भएको भए मोबाइलले फोटो खिच्थे हूँला । उता धौलागिरी सदनका धौलेहरू ठुसुक्क परेर सादा कापीमा चित्त बुझाए । यता घर जानी बेलाँ भाउजूलाई खुसुक्क सोधें – खै त जवाफ ? यस्पालि यति भनेर म भागिनँ । आँट बढिसक्याथ्यो । कुटाइ नै खान परे नि साथीको लागि खाइदिम्ला भन्ने भइसक्याथें ।

पछि बाटोमा चिरञ्जीवीले सोध्यो – सोध्यौ त ?
सोधें ।
– के भनिन् त !
लाज मानिन् ।अन्ततः भाउजूको जवाफ आयो । चिट्ठीको बाहिर पट्टि लेखियाथ्यो – मनदेखी – मुटुसम्म ।

चिट्ठी पाउने बित्तिकै चिरञ्जीवीलाई दिएँ ।
केटाहरूलाई नि भाउजूले जवाफ दिनू भो भनेर सुनाइदिएँ । सबैमाझ हर्षोल्लास छायो ।भोलिपल्ट चिरञ्जीवी स्कूल आएन । मनमनै सोचें – केटो लजायो ।
अर्कोदिन नि आएन । साथीभाइहरू माझ गफ भो – केटो डिप लपमा पर्‍यो अब ।
अर्को दिन नि नआए पछि बेलुकी चिरञ्जीवीको घर पुगें । उ आँगनको छेउमा झोक्राएर बसिरा’रहेछ ।

मयाँले गलाएछ – मनमनै सोचें ।के भो यार ? किन स्कूल नआको ? भाउजूले के भन्नू भो ? – मैले सोधें ।
जिग्री त केही बोल्दैन ।
के भो ? किन नबोलेको ? – मैले फेरि सोधें ।
चिरञ्जीवी केही नबोली बसेको ठाउँबाट उठेर धन्सारतिर गयो र एक्छिनमा हातमा चिट्ठी बोकेर आयो । त्यो चिट्ठी भाउजूले दिएकै चिट्ठी थियो ।लाउ, आफैं पढ भनेर मेर‍ो हातमा चिट्ठी फाल्दियो ।
साथीको चिट्ठी पढुम् कि नपढुम् भो । हा… जे सुकै होस् भनेर खोल्देको मेरो त सुरुमैं ‘डियर गोविन्द’ लेखिएको रहेछ ।

मलाई त भाउन्न भो ।

वाक् आउला आउला जस्तो भो ।
पेट कटक्क खायो, तुर तुर पिसाब आउने बनायो …

काँ’को कुरा काँ पुगेछ । एक्छिन त के भन्ने के नभन्ने तनाप भो ।
मैले हैन, मैले केही गरेको छैन भनेर हजार बिन्ती गरें । तर चिरञ्जीवीले पत्याए पो । पछि छानबिन गर्दा थाहा भो, उसले चिट्ठीको अन्तिममा आफ्नो नामको साँटो ‘निश्चल अनुरागी’ लेखेर मरेछ र भाउजूले निश्चल अनुरागी मलाई बनाएर मरिछिन् । यता जिउँदै मरेसरी भो मिस्टर लेजीबोन उर्फ गोविन्दे । पछि भाउजूलाई भेटेर त्यो चिट्ठी चिरञ्जीवीले लेखको हो, मैले हैन भनें । उल्टै भाउजूले त – ‘ पापी!, मायालाई खेल सम्झिने अपराधी’ भनेर साफ थर्काइन् । यता चिरञ्जीवी मसँग बोल्न छोड्यो । बोल्न मात्रै छोडेन, बस्नी बेन्च नै चेन्ज गर्‍यो ।

अनि पछि थाहा भो, सबैभन्दा छिटो बढ्नी बिरुवा ‘बाँस’ रहेछ ।

 

(गोविन्द सुबेदी)